डिएलए नेपालको परिचय 


स्वतन्त्र र सक्षम न्यायप्रणाली स्थापना गर्न एकतन्त्री एवम् अधिनायकवादी विचार व्यवस्था र प्रवृत्तिका विरुद्ध कानुन व्यवसायीहरुलाई संगठित गरी विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा सतत प्रयत्नशील रहने उद्देश्य राख्दै २०४७ मंसिर ५ गते यो संस्थाको स्थापना भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको यो संस्थाले राष्ट्रियता, लोकतन्त्र, समाजवादका मूल्य–मान्यता तथा प्रक्रिया एवं मानवअधिकार, कानुनको शासन र सामाजिक न्यायको सिद्धान्तप्रति प्रतिबद्ध कानुन व्यवसायीहरुको साझा प्रतिनिधि संस्थाका रुपमा काम गर्दै आएको छ । 
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) Nepal Democratic Lawyers Association (DLA Nepal) मुलतः मुनाफारहित, जनहितकारी सामाजिक संस्थाका रुपमा रहेको छ । यो संस्था मानवअधिकारको संरक्षण र संवद्र्धन, लोकतान्त्रिक संस्कृतिको विकास तथा कानुनी शासनको स्थापना, संरक्षण, प्रवद्र्धनर मानवअधिकारसम्बन्धी राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता र घोषणाको कार्यान्वयनमा क्रियाशील रहँदै आएको छ । त्यसैगरी कानुनको शासन र न्यायपूर्ण समाजको स्थापनाका क्षेत्रमा कार्यरत संघ संस्थाको भूमिका तथा सहभागिता सम्बन्धमा राष्ट्रिय नीति तर्जुमा गर्न समेत संस्था क्रियाशील रहेको छ । 


डिएलए नेपालले स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भीक न्यायपालिकको विकास, संरक्षण र संवद्र्धनका लागि निरन्तर आवाज उठाउदै आएको छ । साथै विधिको शासनको प्रत्याभूति, मानवअधिकारको रक्षा, सामाजिक न्याय आदि विषयमा क्रियाशील विश्वभरका कानुन व्यवसायी संगठनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघसंस्था र निकायसँग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने समेत उद्देश्यले विभिन्न कामहरु गर्दै आएको छ । यस संस्थाले कानुनका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गर्ने, अभिलेख राख्ने, विभिन्न लेखरचनाहरु समेटिएको जर्नल प्रकाशन गर्ने समेत गर्दै आएको छ । 


कानुन व्यवसायीहरुको हकहित प्राप्ति एवम् पेशागत सुरक्षा तथा लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता लगायतका विषयमा नेपाल बार एशोसिएशनलाई आवश्यक सहयोग समेत गर्दै आएको छ । लोकतन्त्र, कानुनीराज, संवैधानिक सर्वोच्चता, समाजवाद आधुनिक बजार व्यवस्थाको नीतिजस्ता विषयमा विशेष सक्रिय रही विभिन्न छलफल कार्यक्रम र कार्यशाला गोष्ठीको आयोजना समेत गर्ने गरेको छ । साथै सार्वजनिक सरोकारका विषयमा नीतिगत छलफल तथा कानुनी क्रियाकलापहरु समेत गर्दै आइरहेको छ । नवोदित तथा युवा कानुन व्यवसायीहरुलाई पेशामा सक्रिय रहनका लागि सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम समेत गर्दै आएको छ ।

प्रेश बिज्ञप्ति